निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई नेता कोइरालाको आग्रह
ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई संकटबाट जोगाउन मध्यमार्गी भूमिका निर्वाह गर्दा आफूले विभिन्न दबाब झेल्नुपरेको बताएका छन्।
आज यहाँ आयोजित आफ्नोनिकट नेता तथा कार्यकर्ताको भेलामा बोल्दै नेता कोइरालाले मध्यमार्ग र सत्यको बाटो सधैं गाह्रो र अप्ठ्यारो हुने उल्लेख गर्दै आफू त्यसै मार्गमा अडिग रहेको स्पष्ट पारे।
“मध्यमार्ग र सत्यको बाटो गाह्रो हुन्छ, तर म सत्यको बाटोमै हिँडिरहेको छु। यसबाट विचलित हुँदिन,” उनले भने, “पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका खेल्दै कांग्रेसलाई संकटबाट जोगाउनु आजको आवश्यकता हो।”
उनले तोकिएको मितिमा निर्वाचन हुने विषयमा पूर्ण रूपमा ढुक्क हुन नसकिने अवस्था रहेको स्वीकार गरे पनि देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा व्यक्त गरे। साथै, उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरे।
पार्टीभित्र देखिएको विवाद अदालतमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेता कोइरालाले अदालतको निर्णयलाई स्वीकार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनको अभिव्यक्तिलाई कांग्रेसभित्र देखिएको आन्तरिक द्वन्द्व समाधानका लागि सहमतिका पक्षमा रहेको संकेतका रूपमा हेरिएको छ।