काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा दिएका छन्। मेयर शाहले आज राजीनामा दिएका हुन् । मेयर शाहले राजीनामा पत्रमा आइतबारकै मितिदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले पदमा रहँदा आफूले महानगर र नगरबासीको हितमा सकेसम्म इमान्दारीतापूर्वक काम गरेको उल्लेख गर्दै उनले महानगरको आगामी नेतृत्वलाई शुभकामना समेत दिएका छन् ।
शाहले २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा विजय हासिल गरी मेयरको रूपमा कार्यभार सम्हालेका थिए। उनका समर्थकहरूले उनको निर्णयलाई राष्ट्रिय राजनीतिमा सक्रिय हुने संकेतको रूपमा लिएका छन्।
राजीनामासँगै शाह अब प्रतिनिधि सभा सदस्यको पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उनी झापा–५ क्षेत्रबाट चुनावी मैदानमा उत्रने योजना बनाइरहेका छन्।
उनको राजीनामा र नयाँ राजनीतिक अभियानले नेपाली राजनीतिमा युवापुस्तालाई लक्षित गर्दै नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। साथै, उनी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने संयुक्त रुपमा निर्वाचन अभियान अगाडि बढाउने तयारीमा छन्।
अव काठमाडौं महानगपालिकाको कार्यबाहक उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
