काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहक महानुभावहरूलाई आफ्ना खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकका अनुसार, करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपालको आन्तरिक राजश्व विभागमा प्यानसँगै सम्बन्धित गरिनुपर्ने भएकाले ग्राहकहरूले आफ्नो प्यान अद्यावधिक गर्नु अत्यावश्यक छ। ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com
वा मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा रहेको “PAN Update” विकल्पमा ट्याप गरी आफ्नो प्यान अपडेट गर्न सक्नेछन्। साथै, बैंकको कुनै पनि शाखाबाट समेत प्यान अद्यावधिकको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंकले जनाएको छ कि प्यान अद्यावधिक भएपछि ग्राहकको ब्याज करको विवरण (E-TDS) स्वचालित रूपमा प्यानमा प्रविष्ट हुनेछ, जसले गर्दा करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सजिलो हुनेछ। यदि ग्राहकले प्यान अद्यावधिक नगरेका कारण E-TDS मा ब्याजकर दाखिला नभएको खण्डमा बैंक जिम्मेवार नहुने पनि स्पष्ट पारिएको छ।
त्यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न समेत अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमा रहेको My Profile → Change Email मार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। बैंकको कुनै पनि शाखाबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले भने, “यदि पहिले प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा, ग्राहकहरूले नजिकैको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा १६६०–०१–७७७७१ र ०१–५९७०१०१ नम्बरमा सम्पर्क गरी सेवा लिन सक्नेछन्।”