काठमाडौं। सशस्त्र प्रहरी बलमा ६ जना नायब महानिरीक्षक (डिआईजी) का पद हाल रिक्त भएका छन्। पदावधि पूरा भएकाले कमल गिरी, शम्भु सुवेदी र कुलविक्रम नेम्बाङले अवकाश पाएपछि ६ पद खाली भएको हो।
यसअघि सरकारले सशस्त्रमा थप ३ डिआईजी पद घोषणा गरेको थियो, तर ती पदमा बढुवा नगरेको कारणले अहिले ६ पद रिक्त भएको बताइएको छ। सशस्त्र प्रहरी बलले यी रिक्त पदका लागि आन्तरिक बढुवाको तयारी अघि बढाएको छ।
सूचनाअनुसार, बढुवा प्रक्रिया निर्वाचन आचारसंहिता लागू हुनुअघि सम्पन्न गर्ने योजना बनाइएको छ।
हाल डिआईजी पदका लागि १४ जना एसएसपी प्रतिस्पर्धामा रहेका छन्। कानुन निर्देशनालयका युवराज अर्याल एक्लै दाबेदार रहेको जानकारी छ। अन्य प्रतिस्पर्धीमा प्रवीण कँडेल, दिग्बिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण डुंगाना र शंकर खनाल रहेका छन्।
सशस्त्र प्रहरी बलले बढुवा प्रक्रिया पूरा गरेपछि रिक्त डिआईजी पदमा नियुक्ति गर्ने तयारी गरेको छ।