उदयपुर : खोटाङ र उदयपुर जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ। यससँगै खोटाङलाई तराईसँग जोड्ने छोटो मार्ग सगरमाथा लोकमार्ग पुनः प्रयोगमा आएको छ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको पक्की पुल गत वर्ष असोज १२ गते आएको बाढीले बगाएपछि सवारी आवागमन अवरुद्ध भएको थियो। त्यसपछि अस्थायी रूपमा बेलिब्रिजको व्यवस्था गरिँदै आएको छ।
गत वर्ष जडान गरिएको बेलिब्रिज कोशी नदीमा पानीको बहाव बढेसँगै हटाइएको थियो। यो वर्ष पुनः बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको हो। बेलिब्रिज सञ्चालनमा आएसँगै जेठको पहिलो सातासम्म खोटाङ–तराई सगरमाथा लोकमार्गबाट सिधा जोडिएको छ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी शहरतर्फ आवतजावतका लागि छोटो र सहज मार्गका रूपमा प्रयोग हुँदै आएको छ।
निर्माण कम्पनी आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोजका निर्देशक राम थापाका अनुसार पुस २६ गते शनिबार बेलिब्रिज जडानको काम सम्पन्न भएपछि पुस २७ गते आइतबार बिहानबाट सवारी साधन आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको हो।
फोक्सिङटारमा बेलिब्रिज जडानका लागि गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज कटारीसँग ठेक्का सम्झौता गरेको थियो।
फोक्सिङटारमा सवारी साधन वारपार नहुँदा यसअघि खोटाङवासीले घुर्मी र कटारी हुँदै लामो दूरीको सडक प्रयोग गर्न बाध्य थिए। लामो मार्गका कारण सामान ढुवानीदेखि यात्रासम्म खर्च बढ्दा स्थानीयवासी महँगीको मारमा परेका थिए। मोटरसाइकल भने झोलुङ्गे पुलमार्फत वारपार हुँदै आएका थिए।
अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लावासीलाई केही महिनाका लागि राहत मिलेको छ। यद्यपि बाढीले बगाएको फोक्सिङटारको पक्की पुल पुनःनिर्माणको विषयमा भने हालसम्म ठोस निर्णय हुन सकेको छैन।