काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशको अर्थतन्त्रमा ठूलो असर पारेको सरकारी अध्ययनले देखाएको छ। अध्ययनअनुसार आन्दोलनका कारण देशभर ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।
राष्ट्रिय योजना आयोगको संयोजनमा तयार गरिएको प्रतिवेदनले सरकारी संरचना पुनर्निर्माण र मर्मतका लागि मात्रै ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। कुल क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत बराबर रहेको छ। यसमा भवन पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड, सवारीसाधन मर्मत तथा खरिदतर्फ ६ अर्ब १६ करोड र अन्य भौतिक सामग्रीमा १० अर्ब १४ करोड खर्च लाग्ने अनुमान छ।
क्षतिको सबैभन्दा ठूलो हिस्सा सार्वजनिक क्षेत्रमा परेको छ भने बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। भवन र सवारीसाधनमा मात्रै ५२ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ।
आन्दोलनका कारण उत्पादन, सेवा क्षेत्र र रोजगारीमा पनि असर परेको छ। साथै, मानवीय क्षतितर्फ ७७ जनाको मृत्यु र २ हजारभन्दा बढी घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ।