काठमाडौं । पर्यटन र व्यापारिक प्रयोजनका लागि अमेरिका जाने नेपाली नागरिकले अब ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी बुझाउनुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३८ देशका नागरिकका लागि नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गर्ने जनाएको हो।
जनवरी २१ देखि लागू हुने यस नियमअनुसार बी–१ र बी–२ भिसा स्वीकृत भएपछि कन्सुलर अधिकारीले धरौटी रकम तोक्नेछन्। धरौटी अमेरिकी ट्रेजरीको आधिकारिक अनलाइन प्रणालीमार्फत मात्र बुझाउनुपर्नेछ।
तोकेको समयमै अमेरिका फर्किए धरौटी फिर्ता हुनेछ। तर भिसा अवधि नाघेमा, भिसा परिवर्तन गरेमा वा असाइलम मागेमा रकम जफत हुनेछ।
अमेरिकी प्रशासनले यो व्यवस्था भिसा अवधि नाघेर बस्ने प्रवृत्ति घटाउने उद्देश्यले ल्याइएको जनाएको छ।
हाल नेपाल, भुटान, बंगलादेश, क्युबा, फिजी, नामिबिया, नाइजेरिया, सेनेगल, ताजिकिस्तान, युगान्डा, भेनेजुएला, जिम्बावे, जाम्बिया लगायत देशका नागरिकलाई यो व्यवस्था लागू हुनेछ।