वीरगंज । वीरगंज महानगरपालिकाका केही क्षेत्रमा जारी कर्फ्यू आदेश आज (पुस २२ गते) अपरान्ह ३:३० बजेबाट हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयले जानकारी दिँदै भनेको छ कि सर्वदलीय बैठकमा जिल्लाको शान्ति सुरक्षा सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन र व्यापार व्यवसाय सहज गर्नुपर्ने निर्णय अनुसार कर्फ्यू हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिकहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
वीरगञ्जमा हिन्दु तथा मुस्लिमहरु बीच मुठभेड भएको थियो । हिन्दु समुदायले मस्जिदमा तोडफोड र आगजनीजस्ता घटनापछि मुस्लिम समुदायले प्रदर्शन गरेको थियो भने, मन्दिर तथा देवी–देवतामाथि आपत्तिजनक टिप्पणी भएको आरोप लगाउँदै सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि सडकमा उत्रिएका थिए।
यही क्रममा पुस २१ गते १० बजे वीरगञ्जमा पुनः हिन्दुवादी संगठनहरूले प्रदर्शन गरेपछि दुवै पक्षको गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा तथा कर्फ्यू लागू गरेको थियो ।

सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।
‘भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,’ उनले भने।
प्रजिअ दाहालका अनुसार सो स्थायी सद्भाव संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह, रञ्जन सिंह रहनेछन् । त्यसैगरी, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहनेछन् ।
सो सर्वपक्षीय तथा सर्वदलीय बैठकले अन्य धार्मिक समुदायबाट पनि आवश्यकताअनुसार प्रतिनिधित्व र जिल्लास्थित राजनीतिक दलहरूका तर्फबाट एक-एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी, सोही संयन्त्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा नागरिक समाजको प्रतिनिधि सदस्य रहनेछन् । सो बैठकले सबै प्रकारका सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक, सांस्कृतिक-सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
त्यसैगरी धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह-आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बताइएको छ ।
साथै सबै पक्षले आ–आफ्नो, समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ ।
सो बैठकले विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरु नगर्ने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।