२०८३ भाद्र ३१ बुधबार

कोशी प्रदेश स्टार्टअपमा २ अर्ब ५६ करोड लगानी, २१ देखि ७० वर्षसम्मका उद्यमी सक्रिय

ई आर्थिक    मंगलबार, पौस २२ २०८२
3.3K
Shares
कोशी प्रदेश स्टार्टअपमा २ अर्ब ५६ करोड लगानी, २१ देखि ७० वर्षसम्मका उद्यमी सक्रिय

ई–आर्थिक, काठमाडौं । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षसम्मका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।

केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। कुल लगानीमध्ये ३८.७ प्रतिशत ऋणबाट र ६१.३ प्रतिशत स्वपुँजी (इक्विटी)बाट परिचालन भएको अध्ययनमा उल्लेख छ।

अध्ययनअनुसार स्टार्टअप उद्यममा ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमीको हिस्सा सबैभन्दा बढी ४४.४ प्रतिशत रहेको छ। त्यसपछि २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी संलग्न रहेका छन्।

२१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी ७३.३ प्रतिशत सूचना प्रविधि क्षेत्रमा संलग्न रहेको देखिएको छ भने सबैभन्दा कम २१.२ प्रतिशत कृषि क्षेत्रमा सक्रिय छन्। अध्ययनले युवापुस्ताले डिजिटल तथा प्रविधिमा आधारित उद्यममा बढी रुचि राख्ने प्रवृत्ति देखाएको छ।

३६ देखि ५० वर्ष उमेर समूहका उद्यमीहरू भने मुख्यतः कृषि क्षेत्रमा बढी संलग्न रहेका छन्। यस उमेर समूहमा सूचना प्रविधि क्षेत्रमा संलग्नता सबैभन्दा कम २६.७ प्रतिशत रहेको छ। त्यस्तै ५० देखि ७० वर्ष उमेर समूहका उद्यमीहरू सबैभन्दा बढी २७.३ प्रतिशत पर्यटन क्षेत्रमा संलग्न रहेका छन् भने सूचना प्रविधि क्षेत्रमा यस उमेर समूहको कुनै पनि सहभागिता नरहेको अध्ययनले देखाएको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमलाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्यांक संकलन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अध्ययनमा समावेश १६० स्टार्टअप उद्यम कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्रमा रहेका छन्। तीमध्ये कृषि तथा वनजन्य क्षेत्रका उद्यम ४१.३ प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि क्षेत्रका ९.४ प्रतिशत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij