वीरगञ्ज । हिन्दु तथा मुस्लिम समुदायबीचको सम्भावित मुठभेडलाई रोक्न पर्सा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले पुस २१ गते साँझ ६:०० बजे देखि भोलि विहान ८:०० बजे सम्म वीरगञ्ज महानगरपालिकाभित्र चारवटा तोकिएका क्षेत्रहरूमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउमा पूर्ण रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, कर्फ्यूको समयमा सुरक्षाकर्मीले देख्ने वित्तिकै आवश्यक कदम चाल्न सक्ने भएकोले अत्यावश्यक बाहेक नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरिएको छ।
यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन, हवाई यात्रु र पर्यटकहरूलाई सुरक्षा सहजीकरण दिइनेछ।
कर्फ्यूको पृष्ठभूमि यस प्रकार छ: आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए, जसको कारण मन्दिर तथा देवी–देवतामाथि आपत्तिजनक टिप्पणी भएको आरोपपछि सोमबारदेखि हिन्दुवादी समूहहरू पनि सडकमा आएका थिए।
आज बिहान १० बजे पुनः हिन्दुवादी संगठनहरूले प्रदर्शन गर्दा प्रशासनले दुवै पक्षको गतिविधिलाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गरेको हो। प्रशासनले विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न वार्ता प्रक्रियामा रहेको जानकारी दिएको छ।
