काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका वडा नं ७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन प्रकरणमा चार जना व्यक्तिविरुद्ध आरोपपत्र दायर गरेको छ।
अनुसन्धानमा ठेकेदारको लापरबाही र नगरपालिकाको ढिलासुस्तीका कारण चार वर्ष वितिसक्दा भवन अलपत्र रहेको देखिएको थियो।
अख्तियारले ठेकेदार कम्पनी मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, लेखा अधिकृत कृष्ण प्रसाद शर्मा र इन्जिनियर आशिष शाक्य लाई सार्वजनिक रकम दुरुपयोग गरी रु. १ करोड १३ लाख ४४हजार २१६।८६ बढी हानि पुर्याएको आरोप लगाउँदै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जनायो।
अख्तियारले आरोपपत्र अनुसार कुमान सिंह गुरुङ (प्रमुख प्रशासकीय अधिकृत) र लाल बहादुर मल्ल (ठेकेदार) माथि रु. १,१३,४४,२१६।८६ को बिगो, आशिष शाक्य (इन्जिनियर) माथि रु. ९६,४१,८७४।८८, र कृष्ण प्रसाद शर्मा (लेखा अधिकृत) माथि रु. १७,०२,३४१।९८ को बिगो दाबी गरिएको छ।
आयोगले ठेकेदार र जिम्मेवार कर्मचारीहरूले सम्झौता अनुसार काम नगरी पेश्की रकम फर्छ्यौट नगरेको र गैरकानूनी रूपमा लाभ लिएको ठहर गरेको छ। आरोपपत्रमा दावी अनुसार सबैभन्दा ठूलो बिगो रु १ करोड १३ लाख ४४हजार २१६ रहेको छ। आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गरिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, आगामी कार्यवाही अदालतमा हुनेछ र सरकारी रकमको क्षति पूर्ति गर्न कानूनी प्रक्रिया अघि बढाइनेछ।