२०८३ साउन १० आइतबार

समानुपातिक उम्मेदवार सम्बन्धी भ्रामक प्रचारविरुद्ध कुलमान घिसिङद्वारा स्पष्टीकरण

ई आर्थिक    बुधबार, पौस १६ २०८२
2.3K
Shares
समानुपातिक उम्मेदवार सम्बन्धी भ्रामक प्रचारविरुद्ध कुलमान घिसिङद्वारा स्पष्टीकरण

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिक सूची सम्बन्धी भ्रामक प्रचारप्रति ध्यानाकर्षण गर्दै उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङले सार्वजनिक स्पष्टीकरण जारी गरेका छन्।

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका ‘भान्जा’ वा ‘ससुरा’ सम्बन्धी भनाइहरू पूर्णतया असत्य र भ्रामक रहेको घिसिङले बताए ।

“समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन् र उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अन्य पार्टीको टिमबाट सिफारिस भएका व्यक्ति हुन्,” उनले भने। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो ससुरा नभएको स्पष्ट गरेका छन्।

घिसिङले जोड दिए, “समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा तयार गरिएको होइन, यो पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो।” उनले आफनो सार्वजनिक जीवनभर नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध उभिरहेको र त्यसै इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले फैलाइएका हल्ला दुःखद भएको पनि बताएका छन्।

उनले भनाइमा थपे, “राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गर्ने प्रयास आपत्तिजनक छ। बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइनेछ। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु।”

यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा  नपर्न घिसिङले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij