ई–आर्थिक, झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ। सो अवधिमा पेट्रोलियम पदार्थ आयातबाट मात्र ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपियाँ राजस्व उठेको कार्यालयले जनाएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको पहिलो पाँच महिनामा पाँच किसिमका पेट्रोलियम पदार्थ करिब ७ अर्ब ८४ करोड ४० लाख रुपियाँ बराबरका ११ हजार २८ किलो लिटर आयात भएका छन्। पेट्रोलियम पदार्थले मात्र कार्यालयको कुल राजस्व संकलनमा ५५.८० प्रतिशत योगदान दिएको उनले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार अन्य वस्तुबाट संकलित राजस्वमा तयारी कपडाको हिस्सा ४.१४ प्रतिशत रहेको छ। यस्तै, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व संकलन भएको छ।
पेट्रोलियम पदार्थ आयातमा उच्च निर्भरता देखिँदा मेची भन्सार कार्यालयको राजस्व संरचनामा यसको प्रभावशाली भूमिका कायम रहेको स्पष्ट देखिन्छ।