माघ २२ सम्म आवेदन दिन सकिने
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि लक्षित गरेर ‘एनटी फाइबर विद्यार्थी अफर’ ल्याएको छ। आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको यो अफर विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुनेछ।
नेपाल टेलिकमले हाल विद्यार्थीहरुका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको जानकारी दियो । उक्त अफरका लागि आवेदन मिति आगामी माघ २२ गते सम्म रहेको छ र विद्यार्थीहरुका लागि मात्र उपलब्ध हुने यो अफर हाल धेरै विद्यार्थीहरुका लागि उपयोगी बनेको छ ।
के हो एनटी फाइबर विद्यार्थी अफर ?
नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम (एनटी फाइबर इन्टरनेट) अन्तर्गत विद्यार्थीहरुका लागि लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो । एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध छ भने विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी यो अफर उपलब्ध गराइएको छ ।
सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र हो । यसबाट प्रतिदिन २५ जीबी डाटा प्रयोग गर्न सकिन्छ भने सो भन्दा बढी डाटा खर्च भएमा स्पिड ५ एमबीपीएस मा सीमित हुनेछ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।
अफर लिन के गर्ने ?
एनटी फाइबर विद्यार्थी अफर लिन विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।
कुन कुन कागजात संलग्न गर्नुपर्छ ?
वि.सं. २०५४ वा पछि जन्म भएका विद्यार्थीहरुका लागि मात्र यो अफर लागु हुनेछ । स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, आवेदन फारमसँगै विद्यार्थीको परिचय पत्र अनिवार्य पेश गर्नुपर्नेछ । नाबालिग विद्यार्थीका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
यो अफरको समयावधि सकिएपछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन । सेवा निरन्तरता चाहनेले साविक प्याकेजहरूबाट छनोट गर्नु पर्नेछ र नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।
विस्तृत जानकारीका लागि विद्यार्थीहरुले नेपाल टेलिकम मार्फत सम्पर्क गर्न सक्नेछन्।