काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सुरु भएको छ। घर निर्माण फाउन्डेसनको आयोजनामा भएको यस फेस्टको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गर्नु भएको हो।
“जे गर्छौं, नेपालमै” भन्ने नारासहित सुरु भएको फेस्टले नेपालमै अवसरहरू छन् भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताउनुभयो। निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेला मानिने यस फेस्टले निर्माण व्यवसाय क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ।
पहिलो दिनमा करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ। फेस्टमा कुल ४० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ भने २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। मेलामा विश्वकै ठूलो ईंटासहित विभिन्न निर्माण सामग्रीहरूको प्रदर्शनी राखिएको छ।

फेस्ट आजबाट सुरु भई आगामी मंगलबारसम्म जारी रहने छ। नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले समान रूपमा ग्राण्ड प्रस्तुति गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती भोगिरहेका छन्। यस समस्याको समाधानका लागि घर निर्माण फेस्ट आयोजना गरिएको हो।
प्रदर्शनीमा विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया र ब्रान्डिङ परामर्श मार्फत व्यवसायीहरूले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्याउन सक्नेछन्। त्यस्तै, “उल्टो घर”, “डोम हाउस” र ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणको रूपमा राखिएको छ।