काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगको अनुसन्धान अनुसार, समितिले वृक्षारोपणका लागि ६७,५०० रुपैयाँ बराबरका विरुवा खरिद गरेको दाबी गरे पनि बिल र प्रमाण पेश गर्न सकेको थिएन। गाउँपालिकाबाट अनुगमन गर्दा बिरुवा समेत फेला परेन। त्यसैगरी, समितिले सञ्चालन गरेको सिलाई–कटाई तालिममा सहभागीहरुको नाममा भुक्तानी प्रमाण तयार गरेर वास्तविक रूपमा तालिम र निर्माण कार्य दुबैमा रकम हिनामिना गरिएको देखिएको हो ।
विशेष अनुसन्धानमा अध्यक्ष पदम बहादुर पुन मगर, सचिव तारा देवी साउद र कोषाध्यक्ष दिल बहादुर साउद क्षेत्रीले झुट्टा कागजात तयार गरी समितिको रकम रु. ३,०१,९९६– हिनामिना गरेको पुष्टि भएको छ।
अख्तियारले दोषीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आजै आरोपपत्र दायर गरेको छ।