२०८३ साउन ११ सोमबार

जापानको मध्य एसियामा लगानी विस्तारको योजना, १९ अर्ब डलर लगानी गर्ने

ई आर्थिक    शनिबार, पौस ५ २०८२
2.9K
Shares
जापानको मध्य एसियामा लगानी विस्तारको योजना, १९ अर्ब डलर लगानी गर्ने

टोकियो ।  जापानले मध्य एसियाली क्षेत्रसँगको आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी पाँच वर्षभित्र अर्बौँ डलर बराबरका व्यापार तथा लगानी परियोजना अघि बढाउने लक्ष्य सार्वजनिक गरेको छ। प्राकृतिक स्रोतले समृद्ध यस क्षेत्रमा दीर्घकालीन साझेदारी विकास गर्ने जापानको रणनीतिअन्तर्गत यो पहल अघि सारिएको हो।

जापानका प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा काजाकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, किर्गिजस्तान र ताजिकिस्तानका शीर्ष नेताहरूसँग पहिलोपटक संयुक्त शिखर सम्मेलन आयोजना गरेकी हुन्। सम्मेलनपछि जारी साझा वक्तव्यमा जापानले आगामी पाँच वर्षमा करिब १९ अर्ब अमेरिकी डलर बराबरका व्यापारिक परियोजना सञ्चालन गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।

जापान अमेरिका र युरोपेली सङ्घसरह मध्य एसियाका विशाल तर अझै पूर्ण रूपमा उपयोग नभएका प्राकृतिक स्रोतबाट आकर्षित देखिएको छ। विशेषगरी दुर्लभ धातु तथा खनिजको आपूर्ति विविधीकरण गर्दै चीनमा निर्भरता घटाउने उद्देश्यले जापानले यस क्षेत्रमा लगानी बढाउन चाहेको जनाएको छ।

वक्तव्यमा प्राकृतिक तथा ऊर्जा स्रोतले सम्पन्न मध्य एसियालाई विश्व बजारसँग थप जोड्नु आवश्यक रहेको उल्लेख गरिएको छ। नेताहरूले रणनीतिक धातुहरूको आपूर्ति श्रृंखला मजबुत बनाउने, दिगो आर्थिक विकास प्रवर्द्धन गर्ने र वातावरणीय प्रतिबद्धता पूरा गर्ने विषयमा सहकार्य गर्ने सहमति जनाएका छन्।

यसअघि मध्य एसियाली राष्ट्रहरूले रूस, चीन र युरोपेली सङ्घका नेताहरूसँग पनि अलग–अलग शिखर सम्मेलनहरू गरेका थिए। विश्लेषकहरूका अनुसार पछिल्लो सम्मेलनले यस क्षेत्रमा जापानको कूटनीतिक र आर्थिक प्रभाव विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

यद्यपि मध्य एसियाली मुलुकहरू प्राकृतिक स्रोतमा धनी भए पनि सीमित आर्थिक क्षमता र पूर्वाधारका कारण ती स्रोतको पूर्ण उपयोग चुनौतीपूर्ण बनेको छ। काजाकिस्तान विश्वकै प्रमुख युरेनियम उत्पादक राष्ट्र हो भने उज्बेकिस्तानमा ठूलो मात्रामा सुनको भण्डार छ। तुर्कमेनिस्तान प्राकृतिक ग्यासमा समृद्ध छ भने किर्गिजस्तान र ताजिकिस्तानले नयाँ खनिज स्रोतको खोजीलाई तीव्रता दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij