ई–आर्थिक, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल ३ हजार ३ सय ३ वटा बिमा दाबीमध्ये करिब ५ अर्ब १८ करोड रुपैयाँ बिमितहरूलाई भुक्तानी गरिएको छ। आन्दोलनबाट प्रभावित क्षतिको कुल बिमा दाबी रकम करिब २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।
बिमा प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र चार वटा लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार अग्रिम भुक्तानीसमेत गरी विभिन्न शीर्षकमा दाबी रकम भुक्तानी गरिएको हो।
तथ्यांकअनुसार सम्पत्ति बिमातर्फ ७१० वटा बिमा दाबीबाट करिब १९ अर्ब २ करोड रुपैयाँ दाबी गरिएकोमा करिब ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको छ। मोटर बिमातर्फ २ हजार ३ सय ११ वटा दाबीमध्ये करिब ३ अर्ब ४७ करोड रुपैयाँ दाबी गरिएकोमा करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरिएको छ।
यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ २ सय २५ वटा दाबीबाट करिब ५५ करोड ४७ लाख रुपैयाँ दाबी गरिएकोमा करिब ७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ। परिवहन बिमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने अन्य बिमातर्फ ४५ वटा दाबीबाट करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी गरिएकोमा करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसहित भुक्तानी भएको छ।
जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बिमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनर्बिमा कम्पनीमा १४ वटा निर्जीवन बिमा कम्पनीहरूबाट कुल २ हजार ८ सय ६२ वटा पुनर्बिमा दाबी परेको छ, जसको कुल दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्यांकले देखाएको छ।