काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।
हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। ६ प्रतिशत बोनस शेयर अर्थात करिब १७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ।