२०८३ साउन १० आइतबार

अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसानलाई राहत

ई आर्थिक    मंगलबार, पौस १ २०८२
3.6K
Shares
अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसानलाई राहत

महोत्तरी। मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ।

मधेशमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन्। गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने किसानको बर्सेनिको पिरोलो बन्दै आएको छ। यस्तो बेला नगर कृषि शाखाले यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको बीउ ५० प्रतिशत सहुलियतमा वितरण गरेपछि निकै राहत भएको मटिहानी-१, धिरापुरका किसान लालबाबु मण्डलले बताए।

नगरपालिकाले कृषि उत्पादन बढाउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएअनुरूप पछिल्ला पाँच वर्षयता किसानलाई मुख्य बाली लगाउने बेला बीउ, मल र कृषि उपकरण प्रदान गर्दै आएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।

‘हामीले किसानलाई गहुँ मात्र नभएर धान, तरकारी र मखान लगाउने बेलामा पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियतमा दिँदै आएका छौँ। यसले किसानको उत्पादन र आयआर्जनमा सघाउ पुर्‍याएको छ,’ नगर प्रमुख मण्डलले भने।

अहिले गहुँ बाली लगाउने ठीक समयका बेला वडा-वडामा किसानको माग संकलन गरेर उन्नत जातको बीउ प्रबन्ध गरिएको नगर कृषि शाखाले जनाएको छ। ‘हामीले धमाधम बीउ दिइरहेका छौँ। यसपालि पाँच सय किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ,’ नगर कृषि शाखाकी प्रमुख सन्ध्या साहले भनिन्, ‘बीउ लिन दुई दिनदेखि नै किसानको लामो पंक्ति छ।’ बीउ वितरण पुसको पहिलो साताभरि जारी रहने नगर कृषि शाखाले जनाएको छ।

मधेशमा ठीक समयमा भरपर्दो बीउ नपाएर किसानले समयमा बाली लगाउन पाएका हुँदैनन्। किसानको यो अवस्था बुझेर मटिहानी नगरपालिका नेतृत्वले सबै बाली लगाउने बेला बीउको सहुलियतपूर्ण प्रबन्ध गरेपछि निकै राहत मिलेको मटिहानी-८ की किसान शान्ति देवी बताउँछिन्। मुख्य कुरा बीउ पाइएपछि जग्गा जोतखन र अन्य तयारी निकै सजिलो हुने उनले बताइन्।

खेतीपाती नै जीवनको मुख्य आधार रहेको मधेशका जिल्लाहरूमा स्थानीय सरकारले बीउ, मलखाद र कृषि ज्यावल तथा उपकरणमा सहयोग गर्नुपर्ने किसानको अपेक्षा हुन्छ। तर, अधिकांश स्थानीय तह यसबारे बेखबर रहँदा किसानले सास्ती पाउँदै आएका छन्। बाली लगाउने बेला मटिहानीकै जस्तो समयमै भरपर्दो बीउ, मलखाद र कृषि ज्यावलको प्रबन्धमा सबै स्थानीय तहले पहलकदमी लिनुपर्ने जिल्लाका किसान बताउँछन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij