काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूले उल्लेखनीय रूपमा दाबी भुक्तानी प्रक्रिया अघि बढाएका छन्।
प्राधिकरणमा उपलब्ध पछिल्लो तथ्यांक अनुसार हालसम्म कूल ३,३०० दाबी दर्ता भएका छन्, जसको कुल दाबी रकम करिब रू. २३ अर्ब ४४ करोड पुगेको छ। तीमध्ये बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित करिब रू. ४ अर्ब ३८ करोड ४८ लाख बीमितहरूलाई भुक्तानी गरिसकेका छन्।
प्राधिकरणमा दर्ता १४ निर्जीवन तथा ४ लघु निर्जीवन बीमा कम्पनीहरूले पठाएको अद्यावधिक विवरणअनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ।
यस बीमामा ७१० दाबी दर्ता भई करिब रू. १९ अर्ब १ करोड क्षतिभुक्तानी दाबी उठाइएको छ, जसमा करिब रू. ३ अर्ब १२ करोड २७ लाख भुक्तानी भइसकेको छ। मोटर बीमामा २,३०८ दाबी परेका छन्। करिब रू. ३ अर्ब ४८ करोडको दाबी उठेका मध्ये करिब रू. १ अर्ब ९ करोड भुक्तानी भएको छ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा २२५ दाबी दर्ता भएका छन्। करिब रू. ५५ करोड ५५ लाख दाबी रकममध्ये रू. ६ करोड ८१ लाख भुक्तानी गरिएको छ। त्यस्तै, परिवहन बीमामा १२ दाबी परेर करिब रू. १ करोड ६९ लाख क्षतिदाबी उठेको छ भने करिब रू. ६६ लाख भुक्तानी भएको छ। अन्य बीमामा परेका ४५ दाबीका लागि करिब रू. ३८ करोड ४० लाख क्षति दाबी उठेका मध्ये अग्रिमसहित करिब रू. ४९ लाख भुक्तानी गरिएको छ।
जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानी सहज बनाउन नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब रू. २ अर्ब ५६ करोड अग्रिमसहित पुनर्बीमा दाबी भुक्तानी उपलब्ध गराएको जनाएको छ। पुनर्बीमा कम्पनीमा हालसम्म १४ निर्जीवन बीमा कम्पनीहरूबाट २,८६१ पुनर्बीमा दाबी दर्ता भएका छन्, जसको कुल दाबी रकम करिब रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक विवरणमा उल्लेख छ।