२०८३ साउन १० आइतबार

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको माग: माइतीघरमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

ई आर्थिक    मंगलबार, मंसिर २३ २०८२
5.9K
Shares
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको माग: माइतीघरमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

ई-आर्थिक, काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेको छ।

समाजका पदाधिकारी, सदस्य, युवाहरू, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिताले यो अभियान अझ सशक्त बनेको थियो।

देशको सुशासन, न्याय र विकासलाई कमजोर बनाउँदै आएका भ्रष्टाचारका गम्भीर प्रभावलाई स्मरण गराउँदै प्रदर्शनले तीन प्रमुख सन्देशहरू सार्वजनिक गर्यो।

पहिलो, भ्रष्ट पात्र र प्रवृत्तिलाई दण्डित नगरी सुशासन सम्भव छैन, त्यसैले योग्य छानबिन र कठोर कारबाहीका लागि राज्य संयन्त्र प्रभावकारी रूपमा सक्रिय हुनुपर्ने माग गरिएको थियो।

दोस्रो, माथिल्लो तहका नेतृत्वमाथि कानुनी प्रक्रिया समान रूपमा लागू हुनु अत्यावश्यक छ। नयाँ सरकारले पनि पुरानै गल्ती दोहोर्याइरहेको जनआक्रोश प्रदर्शनमा झनै प्रस्ट रूपमा अभिव्यक्त भयो।

तेस्रो, आर्थिक दण्डहीनताको अन्त्य सुशासन, विश्वसनीयता र विकासको आधार हो। यसतर्फ सरकारको प्रतिवद्धता अब व्यवहारमा देखिनुपर्ने जनताको सामूहिक चाहना रहेको समाजले स्पष्ट रूपमा प्रकट गर्यो।

प्रदर्शनले भ्रष्टाचारविरुद्धको आवाज कुनै एक संस्थाको मात्र नभई सम्पूर्ण नागरिक भावना र आकांक्षाको प्रतिनिधित्व गर्ने पुनः पुष्टि गर्यो। मानव अधिकार, पारदर्शिता र उत्तरदायित्वमा आधारित प्रणाली नै समृद्धि र न्यायको आधार हो भन्ने सन्देश कार्यक्रमभरि प्रतिध्वनित भयो।

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति व्यवहारमा उतार्न सरकारलाई गम्भीरतापूर्वक आग्रह गर्दै, नागरिकको पसिना, कर र भविष्यसँग खेलबाड हुने अवस्था अब सह्य नहुने चेतावनी दिएको छ।

समाजले सुशासन, न्याय र अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, “यदि राज्य संयन्त्र र प्रत्येक नागरिक ईमानदार भएर उभिन्छन् भने भ्रष्टाचारमुक्त नेपाल सम्भव छ” भन्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij