काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल—प्र) का कार्यकारी निर्देशक हितेन्द्र शाक्य सर्वोच्च अदालतको आदेशपछि पुनः पदमा फर्किने भएका छन्। पुनःबहालीको आदेश आएलगत्तै उनले न्यायालयको निर्णयलाई ‘न्यायको जीत’ भन्दै स्वागत गरेका छन्।
रासससँग कुरा गर्दै शाक्यले सरकारको निर्णयले आफू आहत भएको बेला सर्वोच्चको आदेशले राहत दिएको बताए । “न्यायालयको निर्णयले राहत महसुस भएको छ,” उनले भने । शाक्यले आफ्नो योग्यता, क्षमता र दायित्वअनुसार देश, जनता तथा प्राधिकरणको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
गत असोज ५ गते ऊर्जा मन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार फैसला सुनाउँदै शाक्यलाई कार्यकारी निर्देशकबाट ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण र स्वेच्छाचारी’ ढंगले हटाइएको ठहर गर्दै उनलाई पुनःबहाली गर्न आदेश दिएको हो।