ई-आर्थिक, काठमाडौं । एनआई सी एशिया बैंकले ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको हो।
बैंकका अनुसार ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्नु आवश्यक भएको हो।
ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा रहेको PAN Update विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई E-TDS रेकर्ड मा समावेश गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण सोही प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टी मिलान गर्ने बताइएको छ। यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने र प्रमाणपत्रका लागि बैंक धाउनुपर्ने आवश्यकता हट्ने बैंकको विश्वास छ।
बैंकले चेतावनी दिँदै भनेको छ कि ग्राहकले प्यान अद्यावधिक नगराएको कारण E-TDS मा ब्याजकर दाखिला नभएर पछि कर समायोजन गर्नुपरेमा बैंक जिम्मेवार रहिने छैन।
यससँगै, ग्राहकलाई आफ्नो इमेल ठेगाना पनि अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ। इमेल अद्यावधिकका लागि बैंकको भिडियो केवाईसी पोर्टल वा MoBank एपको My Profile → Change Email विकल्प प्रयोग गर्न सकिने व्यवस्था छ। साथै, नजिकको शाखामा गएर पनि इमेल अद्यावधिक गर्न सकिनेछ।
यदि पहिले प्यान उपलब्ध गराइसक्दा पनि करकट्टी विवरण समावेश नभएको, वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा ग्राहकले नजिकको शाखा वा बैंकको ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछ।