उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको बलरामपुर जिल्लाको फुलबरिया सडकमा नेपालीहरू सवार बस दुर्घटनाग्रस्त भएको छ। मंगलबार बिहान करिब साढे २ बजेतिर यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार विपरित दिशाबाट आइरहेको ट्रकसँग बस ठोक्किँदा आगो लागेको थियो। दुर्घटनामा परि बसमा सवार ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ। उनीहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मृतक र घाइतेको पहिचान अझै खुल्न बाँकी छ।
बस नेपाल–भारत सिमाना नजिकको सुनौलीबाट दिल्ली तर्फ जाँदै गरेको थियो। बसमा जम्मा ४५ यात्रु सवार थिए, तीमध्ये अधिकांश नेपाली रहेको दैनिक भास्करले जनाएको छ।
प्रहरी र स्थानीय सुरक्षा निकायले घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका छन्। दुर्घटनाको कारणका सम्बन्धमा छानबिन जारी रहेको छ।