काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियान #DigitalDecember2025 सुरु गरेको छ। सातौँ संस्करणमा “सशक्त बनाउँदै उद्यमहरू” भन्ने नाराका साथ देशभरका उद्यमहरूको डिजिटल रूपान्तरणमा केन्द्रित रहनेछ।
बैंकका अनुसार डिसेम्बर महिनाभर चल्ने यस अभियानमार्फत आफ्ना डिजिटल प्लेटफर्महरूलाई व्यवसायहरूको प्राथमिक कारोबार माध्यमको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। अघिल्ला वर्षका उपभोक्ता-केन्द्रित अभियानको तुलनामा यस वर्ष उद्यम-केन्द्रित डिजिटल रूपान्तरणमा विशेष जोड दिइएको छ।
डिजिटल डिसेम्बर २०२५ अन्तर्गत घरेलु, साना र मझौला उद्यम, कर्पोरेट संघ संस्था, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा र आतिथ्य क्षेत्रमा क्रियाशील उद्यमहरूलाई समावेश गरिनेछ।
बैंकले डिजिटल माध्यमबाट उच्च-मूल्यको नगद र चेक कारोबारलाई रूपान्तरण गर्ने, एपीआई तथा होस्ट-टु-होस्ट जडानमार्फत ग्राहक प्रणालीबाट सिधै भुक्तानी गर्ने समाधान र भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने योजनामा जोड दिएको छ।
यस अभियानमा बैंकले व्यवसायमैत्री निम्न डिजिटल सेवा प्रवर्द्धन गर्दैछ:
-
इ-कमर्श व्यवसायका लागि भिसा र मास्टरकार्डमार्फत भुक्तानी प्राप्त गर्ने सुविधा
-
कर्पोरेट संघसंस्थाका कर्मचारीका लागि अन कार्ड (भर्चुअल क्रेडिट कार्ड) र भिसा क्रेडिट कार्ड सुविधा
-
व्यवस्थित व्यापारिक कारोबारका लागि कर्पोरेटपे (CorporatePay) र राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण सेवा
-
रियल टाइम भुक्तानी अलर्टसहित व्यापारिक भुक्तानी प्राप्त गर्ने लक्ष्मी वाणी (QR भ्वाइस बक्स)
डिसेम्बर महिनाभर सहभागी उद्यमी र व्यवसायीहरूले अनबोर्डिङ लाभ, छुट तथा अग्राधिकार सेवा पाउनेछन्।
बैंकका डिजिटल च्यानल र रेमिट्यान्स प्रमुख सुमन प्रसाद गेलालका अनुसार अभियानले नेपालमा उद्यम भुक्तानी नवप्रवर्तनमा बैंकको अग्रणी भूमिका सुनिश्चित गर्नेछ। उनले डिजिटल पूर्वाधारलाई कुशलतापूर्वक सञ्चालन गरी व्यवसायलाई सशक्त बनाउँदै पारदर्शी, सुरक्षित र उत्पादनमूलक अर्थतन्त्रमा योगदान पुर्याइरहेको बताए।
बैंकको यो पहलले डिजिटल बैंकिङमा नेतृत्व कायम गर्दै नेपालको व्यावसायिक वातावरणलाई डिजिटल मैत्री र डिजिटल-सक्षम बनाउने लक्ष्यलाई थप बल दिनेछ।