काठमाडौं। एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्द्रा प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।
क्रिकेट एशोसियसन नेपालद्धारा मंसिर १ गते देखि मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई betacular.live नामक अनलाइन बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो ।
सट्टेबाजी गराएको आरोपमा पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको भएको प्रहरीले जानकारी दियो ।
उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।