२०८३ साउन ९ शनिबार

गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न, हजारौं धावकको सहभागिता

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
1.5K
Shares
गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न, हजारौं धावकको सहभागिता

ई-आर्थिक, काठमाडौं ।   “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारालाई आत्मसात् गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति २०८२ साल मंसिर ६ गते शनिबार आयोजित गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

१८औं वार्षिकोत्सवबाट सुरु गरिएको गरिमा रोड रेस प्रतियोगिताको दोस्रो संस्करणमा खुला, संस्थागत (कर्पोरेट) र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी ६ वटा प्रतियोगिता आयोजना गरिएको थियो।

खुला विधातर्फको १० किलोमिटर दुरीको दौड विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार, काठमाडौं अगाडिबाट सुरु भई नारायणगोपालचोक–हात्तीगौडा–बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडि पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै आएर समापन हुने गरी तय गरिएको थियो।

त्यसैगरी, संस्थागत तथा भेट्रान विधातर्फको ५ किलोमिटर दुरीको दौड पनि बालुवाटारबाट सुरु भई नारायणगोपालचोक–न्यूरो अस्पताल, बाँसबारी हुँदै पुनः बालुवाटार फर्किने गरी मार्ग निर्धारण गरिएको थियो।

प्रतियोगितामा १,००० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो। खुला विधामा महिला तर्फ १० किलोमिटर दूरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ प्रथम भइन भने पुरुष तर्फ १० किलोमिटर दूरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नेपाल सेनाका राजन रोकाया विजयी बने।

यस प्रतियोगितामा नेपाल सेनाका धावकहरूले खुला पुरुषतर्फ सबै पुरस्कार तथा महिलातर्फ चार पुरस्कार जित्न सफल भए।

खुला विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः रु.५०,०००, रु.३५,०००, रु.२०,०००, रु.१५,००० र रु.१०,००० नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै, संस्थागत तथा भेट्रान तर्फका ५ किलोमिटर प्रतिस्पर्धामा प्रथमदेखि पाँचौँ स्थान हासिल गर्नेहरुलाई क्रमशः रु.३०,०००, रु.२०,०००, रु.१४,०००, रु.१०,००० र रु.७,००० नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघ–संस्थाका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, पत्रकार, कर्मचारीलगायतको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। समापन समारोहमा विकास बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

त्यसैगरी, भोलि मिति २०८२ मंसिर ७ गते, आइतबार १९औं वार्षिकोत्सवको अवसरमा देशका ८ स्थानमा बृहत् रक्तदान कार्यक्रम तथा १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमहरू आयोजना गरिएको समेत जानकारी गराइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij