नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ आज बास नेपालको सहजीकरणमा सम्पन्न भएको छ। सुनुवाइमार्फत सात बुँदे साझा सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरिएको छ।
सुनुवाइमा गरिएका प्रतिबद्धताहरूअनुसार उपमहानगरपालिकाले आगामी दिनमा निर्माण हुने योजना तथा कार्यक्रमलाई लैङ्गिक तथा सामाजिक समावेशी (LASSA) मैत्री बनाउनुपर्ने, निर्माण गरिने भौतिक पूर्वाधारलाई अपांगता मैत्री नीतिअनुसार पूर्ण रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा बढ्दो सडक अतिक्रमण नियन्त्रण तथा फुटपाथ व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गर्ने, उपमहानगरपालिका क्षेत्रमा रहेका छाडा पशु–चौपायाको व्यवस्थापनका लागि नगरबासी, नगर प्रहरी, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा विशेष योजना बनाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।
नगरभित्रका विभिन्न क्षेत्रमा सडक बत्ती अभाव रहेको गुनासो उठेकाले उपमहानगरपालिकाले तत्काल स्थलगत अनुगमन गरी आवश्यक स्थानहरूमा बत्ती जडान गर्ने बताइएको छ। साथै विभिन्न स्थानमा नाला–ढल सफाइ तथा निकास व्यवस्थापनका लागि नियमित अनुगमनसहित आवश्यक काम गर्ने प्रतिबद्धता समेटिएको छ।
वडा नम्बर २१ र २२ मा पर्ने कान्तिताल संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षभित्रै बत्ती जडान र अन्य आवश्यक कार्यहरू अघि बढाइने तथा लक्षित वर्ग उत्थान कार्यक्रममा लक्षित वर्गका माग तथा आवश्यकताअनुसार उचित सम्बोधन गरिने पनि प्रतिबद्धतामा उल्लेख छ।
सुनुवाइको सुरुमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले पहिलो चौमासिकमा सम्पन्न गतिविधि तथा उपलब्धिबारे जानकारी गराएका थिए। सुनुवाइमा उठेका प्रश्न तथा जिज्ञासाहरूको समाधान नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा शाखा प्रमुखहरूले गरेका थिए।
कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले गरेका थिए। बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले प्रस्तुत गरेका थिए।
उपमहानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ वडा नं. २२, कान्तिताल नजिकको बाबाकुटी परिसरमा सम्पन्न भएको थियो।