२०८३ साउन ११ सोमबार

एनपीएल-२ मा क्यानको आम्दानी र खर्च कति

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
969
Shares
एनपीएल-२ मा क्यानको आम्दानी र खर्च कति

काठमाडौं । नेपाल प्रिमिअर लीग (एनपीएल) को गत वर्षको पहिलो संस्करणमा कुल १ अर्ब रुपैयाँको कारोबार भएको बताइएको थियो।

व्यवस्थित रङ्गशाला र फ्लड लाइटको कृत्रिम प्रकाशमा अहिले एनपीएल सीजन-२ गत वर्षभन्दा फरक तरिकाले सुरु भइरहेको छ।

देशको अर्थतन्त्र चलायमान बनाउने भनिएको यसपालिको एनपीएलको आम्दानी र खर्च चाहिँ कति होला ? धेरैको चासोको विषय छ।

नेपाल क्रिकेट सङ्घका सचिव तथा एनपीएलको गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले यसपालि गत वर्षको दाँजोमा ३ गुणा आम्दानी बढ्न सक्ने बताइसकेका छन्।

एनपीएलले कसरी आम्दानी गर्छ ?

एनपीएलले यसरी नै सफलता प्राप्त गर्दै जाने हो भने ६ वर्षमा नेपाल क्रिकेट सङ्घ युवा तथा खेलकुद मन्त्रालयभन्दा तीन गुणा धनी हुन सक्ने अनुमान समेत सचिव खड्काले खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा गरेका थिए।

मुख्यतः एनपीएलले प्रायोजक, प्रसारण अधिकार, टिकट बिक्री र ‘फ्रेञ्चाइज फी’बाट आम्दानी गर्छ।

गत वर्ष क्यानले रणनीतिक व्यावसायिक अधिकारको लागि ब्रान्ड लजिक कम्पनीलाई ५ करोड ९२ लाख रुपैयाँमा ‘स्ट्राटेजिक एन्ड कमर्शियल राइट्स’ बेचेको थियो।

यसपालि भने क्यान आफैले यो काम गरेको छ। गत वर्ष नै मुख्य प्रायोजकको रूपमा सिद्धार्थ ब्याङ्कलाई ५ वर्षको लागि भित्र्याएको क्यानले यसपालि झन् बढी प्रायोजक भित्र्याउन सफल भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, “१६/१७ वटा जति प्रायोजकहरू विभिन्न स्वरूपमा एनपीएलमा जोडिएका छन्।”

क्यानले प्रायोजकबाट प्राप्त रकम सार्वजनिक गरेको छैन । तर गत वर्ष ब्रान्ड लजिकबाट झन्डै ६ करोड कमाएको क्यानले यसपालि प्रायोजकबाट १६ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ।

क्यान सचिव खड्काले यसपालि आम्दानी ३ गुणा बढ्न सक्ने बताएका छन्।

क्यानको आम्दानीको यो बलियो स्रोत हो।

प्रसारण अधिकार

क्यानले यसपालिको ३ वटा स्वरूपमा प्रसारण अधिकार फरक कम्पनीहरूलाई बेचेको छ।

जसमा नेपाल भित्रको लिनिअर टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडलाई दिइएको छ। यसबापत क्यानले ३ करोड रुपैयाँ भन्दा बढी रकम प्राप्त गर्ने बताइएको छ।

यस्तै स्ट्रीमिङ राइट्स (ओटीटी राइट्स) भारत बाहेक अन्य देशको लागि ‘डिश होम गो’ ले पाएको छ।

भारतमा भने ओटीटी अधिकार ‘फ्यान कोड’ ले पाएको छ। त्यसमा क्यानले २ करोड रुपैयाँ प्राप्त गर्ने बताइएको छ।

डिश होम गोले ५ करोड ३० लाख रुपैैयाँमा यो अधिकार पाएको हो। त्यो न्यूनतम ग्यारेन्टी रकम मात्र हो। त्यसबाहेक पनि डिश होम गोले थप नाफाको ७१ प्रतिशत रकम क्यानलाई प्रदान गर्ने सम्झौता भएको छ।

गत वर्ष यो राइट्स एक्सन स्पोर्ट्सले ७५ लाख रुपैयाँमा पाएको थियो। एक्सन स्पोर्ट्सले यूट्यूब र टीभीमा सित्तैँमा देखाएर विज्ञापनबाट आम्दानी गरेको थियो।

यसपालि भने यूट्यूब वा अन्य च्यानलमा सित्तैमा एनपीएल हेर्न पाइने छैन। ठुलो ब्रान्ड भ्यालु भएका प्रतियोगिताहरू पैसा तिरेर हेर्ने विश्वव्यापी प्रचलन रहेको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसले क्यानलाई राम्रो मुनाफा दिने बताएका छन्।

दक्षिण एसिया क्षेत्रमा भने स्टार स्पोर्टसबाट एनपीएल हेर्न सकिने छ। तर यसबाट आम्दानी होइन, क्यानलाई खर्च बढ्ने छ।

टिकट बिक्री

एनपीएल पहिलो संस्करणमा क्यानले टिकट बिक्रीबाट ४ करोड रुपैयाँ कमाएको थियो।

यसपालि १० हजार सिट क्षमताको व्यवस्थित फ्लड लाइट सहितको रङ्गशालामा खेल भइरहेको छ।

गत वर्ष रङ्गशाला व्यवस्थित थिएन। राम्रो पर्खाल नहुँदा दर्शकहरू कतिखेर कहाँबाट छिर्ने थाहा हुँदैनथ्यो।

रङ्गशाला निर्माणसँगै त्यो समस्या हटेको छ भने क्यानले प्रहरीबाहेक आफ्नै सुरक्षाकर्मी राखेर टिकट बिक्रीलाई व्यवस्थित गरेको छ।

पहिलो दिनको टिकट चाँडै नै ‘सोल्ड आउट’ हुनुले यसपालिको ३२ खेलमै राम्रो टिकट बिक्री हुने अनुमान गरिएको छ।

क्यानले गत वर्ष टिकट मूल्य साधारणतर्फ ३ सय राखेको थियो भने यसपालि ५ सय रुपैयाँ राखेको छ।

त्यसैले क्यानले गत वर्ष भन्दा दोबर आम्दानी गर्ने अनुमान गरिएको छ।

फ्रेञ्जाइज शुल्क

पहिलो सीजनमा ८ वटा टोलीको फ्रेञ्चाइज फीबाट क्यानले झन्डै १७ करोड रुपैयाँ कमाएको थियो।

हरेक वर्ष फ्रेञ्चाइज टोलीले नवीकरण गर्नुपर्छ। नवीकरण रकम भने टीमले पहिलो किनेको रकम अनुसार फरक फरक हुने गर्छ।

जस अनुसार आठ वटै टीमले कम्तीमा १ करोड रुपैैयाँभन्दा बढी तिर्ने हिसाब छ। क्यानले नवीकरण शुल्कबाट ९ करोड रुपैयाँ प्राप्त गर्ने जनाएको छ।

खर्च कति ?

जति ठुलो कार्यक्रम, व्यवस्थापनको लागि उति नै धेरै खर्च हुने नै भयो। पहिलो संस्करणमा क्यानले २० करोड खर्च भएको जनाएको थियो।

यसपालि पनि त्यसकै हाराहारीमा खर्च हुन सक्ने अनुमान छ।

क्यानको यसपालिको सबैभन्दा ठुलो खर्च मध्ये एक: स्टार स्पोर्ट्सलाई प्रसारण बापतको खर्च हो। सार्वजनिक नभए पनि स्टार स्पोर्टसलाई क्यानले ८ देखि १२ करोड रुपैयाँ बुझाउने जानकारहरू बताउँछन्।

कीर्तिपुर रङ्गशालाको शानदार पिच र हरियो मैदान निर्माण अर्को खर्च हो। त्यसमा ग्राउन्ड स्टाफ र ‘पिच क्युरेटर’हरूको खर्च ठुलो छ।

यसपालि ‘ओनर बक्स’ देखि प्रायोजकको लागि क्यानले ३ हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरेको छ। दर्शक गेटहरूमा तार जाली लगाउने कामदेखि होर्डिङ बोर्डमा पनि क्यानले खर्च गर्छ।

त्यस्तै अम्पायर, कमेन्टेटर, होस्ट, म्याच अफिसियसल, एन्टि करप्शन युनिट र सुरक्षाको खर्च क्यानको हो।

प्रचार प्रसारका लागि गरिने कार्यक्रमहरू जस्तै पत्रकार सम्मेलन, अक्सन, रिसेप्सन, उद्घाटन र समापन समारोह, मार्केटिङ आदिमा पनि खर्च हुन्छ।

गत वर्ष ब्रायन लारा जस्ता अन्तर्राष्ट्रिय क्रिकेट व्यक्तित्वलाई प्रचारको लागि निम्तो गर्दा १ करोडको हाराहारीमा खर्च भएको भनिएको थियो। यसपालि भने त्यस्ता अन्तर्राष्ट्रिय स्टारलाई निम्तो नगरेको क्यान प्रवक्ता लामाले बताएका छन्।

पुरस्कार राशिमा पहिलो हुने टोलीलाई १ करोड ११ लाख, दोस्रोले ५१ लाख, तेस्रोले ३० लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ। २ करोड बढीको यो खर्च क्यानको हो।

३२ खेलको प्लेयर अफ द म्याचलाई ५० हजार, फ्यान अफ द म्याचलाई २५ हजार, इनर्जेटिक प्लेयर अफ द म्याचलाई २५ हजार, क्याच अफ द म्याचलाई २५ हजार जस्ता पुरस्कार भने सम्बन्धित प्रायोजकले दिने गर्छन्।

बल लगायत खेल सामग्री अनि खेलको दौरान गरिने खाना, खाजा, यातायात खर्चहरू पनि त्यति नै छ। अन्य फुटकर खर्चहरू उत्तिकै हुने गर्छ।

क्यानले यी सबै खर्च कटाएर गरेको आम्दानीको ५० प्रतिशत रकम ८ वटै फ्रेञ्चाइज टीमलाई बाँड्छ। त्यस्तै प्रदेश क्रिकेटलाई पनि मुनाफाको हिस्सा दिने गर्छ। गत वर्ष क्यानले ७ वटै प्रदेश क्रिकेटलाई १०/ १० लाख वितरण गरेको थियो।

यी सबै खर्च कटाएर पनि यसपालि क्यानले पहिलो वर्षभन्दा तेबरभन्दा बढी नाफा गर्ने अनुमान गरेको छ। समग्रमा एनपीएलले नेपालको अर्थतन्त्र चलायमान गर्न भूमिका खेलेको हुन्छ।

गत वर्ष २ करोड कुल आम्दानी गरेको क्यानले यसपालि कति आम्दानी गर्छ त्यो भने हेर्न बाँकी रहेको समाचार बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij