काठमाडौं । बञ्चरेडाँडामा फोहर विसर्जन स्थानीयवासीको अवरोधका कारण आजदेखि फेरि रोकिएको छ। ककनी र धुनबेँसी क्षेत्रका प्रभावित बासिन्दाले विगतका सहमति कार्यान्वयन नभएको भन्दै उपत्यकाबाट पुगेका फोहोरबाहक गाडीलाई फर्काइएको हो।
स्थानीयले वैज्ञानिक ढङ्गले फोहर व्यवस्थापन, दुर्गन्ध नियन्त्रण, लिच्चड नचुहिने व्यवस्था लगायत समेटिएको १८ बुँदे सहमति १५ दिनभित्र कार्यान्वयन थाल्ने सरकारी प्रतिबद्धता पूरा नभएको आरोप लगाएका छन्। संरचनात्मक काम अघि नबढेपछि उनीहरूले अनिश्चितकालीन अवरोध जारी राखेका हुन्।
ककनी र धुनबेँसीका प्रभावित बासिन्दा सयौँको संख्यामा सडकमा उत्रिएर मन्त्रीस्तरीय लिखित प्रतिबद्धतासहित जिम्मेवार प्रतिनिधि क्षेत्रमै आएर काम सुरु गर्नुपर्ने माग गरिरहेका छन्। स्थानीय मागलाई नुवाकोट र धादिङका जनप्रतिनिधिहरूले पनि समर्थन जनाएका छन्।