ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै विशेष न्यायाधिकरणले सोमबार मृत्युदण्ड सुनाएको छ। गत वर्ष विद्यार्थी नेतृत्वमा भएको व्यापक आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गराएको आरोपमा भारतमा निर्वासित हसिनामाथि अनुपस्थित अवस्थामा मुद्दा चलाइएको थियो।
फैसलाअघि ढाका सहित देशका विभिन्न स्थानमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। पछिल्लो दिनहरूमा कच्चा बम विस्फोट, आगजनी र बन्दका कारण राजधानीको जनजीवन समेत प्रभावित भएको छ।
हसिनासँगै पूर्व गृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्ड माग गरिएको थियो भने पूर्व प्रहरी प्रमुख राज्यका साक्षी बनेपछि सजायबाट बचाइएका छन्। संयुक्त राष्ट्रसंघको विवरण अनुसार २०२४ को आन्दोलनमा १,४०० जनासम्मको मृत्यु भएको थियो।
हसिना गत वर्ष अगस्टमा सरकारबाट अपदस्थ भई भारत पुगेकी थिइन्। त्यसपछि बनेको अन्तरिम सरकारले अवामी लिगका गतिविधिमा रोक लगाउँदै प्रकरणलाई न्यायिक छानबिनमा अघि बढाएको थियो।