काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पनि अनुमोदन गरिएको छ।
त्यसैगरी, बैंकका सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेड — का वित्तीय विवरण समेटिएको एकीकृत (Consolidated) वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको बैंकले जानकारी दियो।
सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने निर्णय गरिएको हो।
यसै अवसरमा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।
साथै, बैंकको विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा नियमावलीमा बैंकका व्यवसायिक उद्देश्यहरू थप वा संशोधन गर्न, र नियमनकारी निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक परेमा सोमा हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
सभामा बैंकका सेयरधारक, सञ्चालक समिति, उच्च पदस्थ अधिकारीहरू र नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।