काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गामा बनेका सुकुमवासी बस्ती हटाउने अभियानलाई तीव्रता दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले उक्त कदमको कडा विरोध गरेका छन्।
सुकुमवासी बस्तीहरूमा पुगेका प्रसाईँले महानगरको कारबाहीविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिंदै भने, “जसले तपाईंको घर भत्काउन आउँछ, त्यसको घर भत्काउनुस्।” उनले सर्वसाधारणलाई हिंसात्मक रूपमा प्रतिक्रिया जनाउन समेत उक्साउने भाषण दिएका छन्।
प्रसाईँले मेयर बालेन शाह र पूर्वन्यायाधीश सुशीला कार्कीलाई ‘उनीहरूको सरकार’ भन्दै तीव्र आलोचना गरे। उनले भने, “सुकुमवासीको घर भत्काएर होइन, समस्या समाधान गरेर मात्र देश बन्न सक्छ।”
मेयर शाहलाई सम्बोधन गर्दै उनले भने, “यदि तपाईंमा दम छ भने बालमन्दिर र पशुपति क्षेत्र खाली गर्नुस्, बसन्त चौधरीले हडपेको नर्भिक अस्पतालको जग्गा फिर्ता लिनुस्। अनि मात्रै सुकुमवासी हटाउन आउनुस्।”
प्रसाईँले सुकुमवासी समस्या सन् २००१ (वि.सं. २०५८) देखि रहेको उल्लेख गर्दै महानगरसँग पर्याप्त बजेट छ भने उनीहरूका लागि वैकल्पिक आवासको व्यवस्था गर्न चुनौती दिए।
उनले मेयर शाहमाथि ‘एसी रुममा बसेर दारु खाने, जमिन्दारको छोरो भएर गरिबलाई खेद्ने’ आरोप समेत लगाए। “गरिबको छोरो–छोरीसँग न घर हुन्छ, न जग्गा। उनीहरूले साग, फर्सी, मकै बेचेर पेट पाल्छन्। शहर सुन्दर बनाउने नाममा तिनीहरूलाई सडकमा ल्याएर राख्नु न्याय होइन,” उनले भने।
काठमाडौं महानगरपालिकाले भने आफ्नो अभियान सार्वजनिक जग्गा र नदी किनार अतिक्रमण मुक्त बनाउनका लागि गरिएको र यो कार्य नियमित रूपमा अघि बढाइने जनाएको छ।