काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश पारित गर्न १९औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आउँदो मंसिर १२ गते, शुक्रबार, काठमाडौंको अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतलीमा साधारण सभा आह्वान गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
बैठकमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।
त्यससँगै सभाले बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, संस्थापक तर्फबाट एक जना र सर्वसाधारण तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने, साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि गत कात्तिक १७ गते बुकक्लोज गरिसकेको छ। त्यसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका शेयरधनीहरू साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
सिटिजन्स बैंकले हरेक वर्ष शेयरधनीहरूलाई नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ। बैंकका अनुसार निरन्तर लाभांश वितरणले लगानीकर्ताको विश्वास थप बलियो बनेको छ।