काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै दुई लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि असोज महिनासम्म २ लाख १० हजार ५१६ जना नेपालीले रोजगारीका लागि वैदेशिक श्रम स्वीकृति प्राप्त गरेका हुन्।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी हो। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा १ लाख ७० हजार ६०३ जना ले मात्र श्रम स्वीकृति लिएका थिए। यस वर्षको तुलनामा ३९ हजार ९१३ जना बढी नेपालीले श्रम स्वीकृति लिएको तथ्यांकले देखाउँछ।
‘जेनजी आन्दोलन’ पछि समेत वैदेशिक रोजगारीतर्फको आकर्षण घटेको छैन। भदौ २३ र २४ गते भएको उक्त आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, ओमान, बहाराइन र कुवेतले नेपाली कामदार प्रवेशमा सतर्कता बढाएका थिए। तर ती देशहरूमा जानेको संख्या उच्च नै रहेको विभागले जनाएको छ।
विभागका अनुसार असोज महिनामात्रै १८ हजार ५ सयभन्दा बढी नेपालीले युएईका लागि श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारका लागि ११ हजारभन्दा बढी, साउदी अरबका लागि ८ हजार ७९१, र कुवेतका लागि ४ हजार ५२३ जना ले श्रम स्वीकृति पाएका छन्।
गत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार, हाल दुबईले कामदार मात्र होइन, विद्यार्थी भिसा पनि अस्थायी रूपमा रोकेको छ। अन्य खाडी मुलुकहरूले भने प्रत्यक्ष प्रतिबन्ध नलगाई सुरक्षा सतर्कता मात्र बढाएको बताइन्छ।
गुरुङले भने, “नेपालका केही घटनापछि ती देशहरू सतर्क भएका हुन्। तर दुबई बाहेक अन्य गन्तव्य देशहरूले अहिले कडा रोक लगाएका छैनन्।”
उनका अनुसार हाल श्रम गन्तव्य मुलुकहरूबाट माग बढ्दो क्रममा छ। श्रम स्वीकृति प्रणाली अनलाइन भएपछि प्रक्रिया सहज बनेको र श्रमिकमैत्री कानुनी संशोधनले पनि वैदेशिक रोजगारीमा जानेको संख्या बढाएको बताइएको छ।
विभागका अधिकारीहरूका अनुसार, गन्तव्य मुलुकहरूमा श्रमिक अभावका कारण माग बढेको र नेपालले श्रमिक आपूर्ति सहज पारेकाले निकट भविष्यमा यो संख्या अझ बढ्ने अनुमान गरिएको छ।