काठमाडौं । एनआईसी एशिया बैंकले सुजितकुमार शाक्यलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई चार वर्षे कार्यकालका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
बैंकका अनुसार शाक्यले ३० दिनभित्र आफ्नो नयाँ कार्यभार सम्हाल्नेछन्। नियुक्तिपछि उनले बैंकलाई अझ मजबुत र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाक्यको बैंकिङ यात्रामा करिब ३० वर्षको अनुभव रहेको छ। उनी यसअघि नबिल बैंकमा वरिष्ठ डेपुटी सीईओका रूपमा कार्यरत थिए। त्यसअघि उनले ग्लोबल आईएमई बैंक, जनता बैंक र सिभिल बैंकमा पनि महत्वपूर्ण पदमा रहेर काम गरिसकेका छन्।
एनआईसी एशिया बैंकमा सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो। न्यौपानेको राजीनामापछि नयाँ नेतृत्वको खोजी भइरहेको बैंकले बताएको थियो।
बैंकका सञ्चालकहरूले शाक्यको दीर्घ बैंकिङ अनुभव र नेतृत्व क्षमतालाई मूल्याङ्कन गर्दै बैंकलाई आगामी वर्षहरूमा अझ सशक्त बनाउने अपेक्षा व्यक्त गरेका छन्।