२०८३ साउन ११ सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान, पाँच वर्षका लागि सेवा प्रदायक छनोट हुने

ई आर्थिक    आइतबार, कार्तिक १६ २०८२
3K
Shares
नागढुंगा–सिस्नेखोला सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान, पाँच वर्षका लागि सेवा प्रदायक छनोट हुने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ। नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत अनुभवी र सक्षम सेवा प्रदायक कम्पनी छनोटका लागि टेण्डर खोलेको हो।

बोलपत्र बुझाउने अन्तिम म्याद आगामी २ पुस २०८२ (१७ डिसेम्बर २०२५) तोकिएको छ।

सुरुङमार्ग भौतिक रूपमा सवारी सञ्चालनका लागि तयार भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी तयारी अभावका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। सुरुङमा अत्याधुनिक प्रविधि प्रयोग भएकाले त्यसको प्रभावकारी सञ्चालन तथा मर्मतका लागि विशेष तालिम प्राप्त जनशक्ति आवश्यक रहेको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार, छनोट हुने सेवा प्रदायक कम्पनीले सुरुङ मार्ग पाँच वर्षसम्म सञ्चालन र मर्मत गर्नेछ। उक्त अवधिमा विदेशी विज्ञहरूले नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गर्ने र भविष्यमा स्वदेशी जनशक्तिबाट अन्य सुरुङ तथा तीव्रमार्ग (फास्ट ट्र्याक) सञ्चालन सहज हुने विश्वास लिइएको छ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले आपत्कालीन सेवा प्रणाली सुदृढ बनाइनेछ। त्यसका लागि करीब १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ।

सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा रहने टोलीमा सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना, टोल उठाउने ५४ जना, ट्राफिक अनुगमन तथा नियन्त्रणका लागि १४ जना, र सिभिल तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ २.७ किलोमिटर र आपत्कालीन सुरुङ २.६ किलोमिटर लम्बाइको छ। सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर (टोल) समेत तोकिसकेको छ।

सरकारको निर्णय अनुसार—

  • कार र भ्यान : काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०

  • मिनिबस र मिनिट्रक : आउँदा रु. ११५, जाँदा रु. ८०

  • बस र ट्रक : आउँदा रु. २६०, जाँदा रु. २००

  • भारी उपकरण सवारीसाधन : आउँदा रु. ६००, जाँदा रु. २५०

आयोजनाका अनुसार, सुरुङको सञ्चालन सुरू भएपछि काठमाडौं प्रवेश र निर्गमन दुवै दिशा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij