२०८३ भाद्र ३० मंगलबार

जेनजी आन्दोलनका क्षतिपछि बीमा कम्पनीद्वारा करिब ३ अर्ब रुपैयाँ भुक्तानी, २३ अर्ब २३ करोडको बीमा दाबी

ई आर्थिक    बिहिबार, कार्तिक १३ २०८२
4.4K
Shares
जेनजी आन्दोलनका क्षतिपछि बीमा कम्पनीद्वारा करिब ३ अर्ब रुपैयाँ भुक्तानी, २३ अर्ब २३ करोडको बीमा दाबी

ई-आर्थिक, काठमाडौं ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड र आगजनीबाट बीमित सम्पत्तिमा भएको क्षतिपछि हालसम्म करिब पौने ३ अर्ब रुपैयाँ बीमा भुक्तानी गरिएको छ।

बीमा प्राधिकरणका अनुसार कात्तिक ९ गतेसम्म १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा गरी करिब २३ अर्ब २३ करोड रुपैयाँ बराबरका दाबी दर्ता भएका थिए। प्राधिकरणले बीमितलाई तत्काल राहतस्वरूप ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि हालसम्म २ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी रकम अग्रिम रूपमा वितरण गरिएको हो।

हाल सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीमध्ये १५ कम्पनीले यस अभियानअन्तर्गत भुक्तानी गरेका छन्। ती कम्पनीहरूमा जम्मा ३ हजारभन्दा बढी दाबी दर्ता भएका छन्।

दाबी संख्याका हिसाबले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ, जसमा ३,१८७ दाबी दर्ता भई करिब २३ करोड रुपैयाँ बराबरको क्षति दाबी गरिएको छ। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३९७ दाबी दर्ता गरी करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको दाबी गरेको र १ करोड २८ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ।

दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९९ दाबी दर्ता भई ५ करोड २४ लाख रुपैयाँ बराबरको क्षति दाबी गरेको छ, तर हालसम्म १ लाख ६६ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ। त्यस्तै, शिखर इन्स्योरेन्सले ४३५ दाबी दर्ता गरी ५८ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ।

अन्य कम्पनीहरू मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले करिब ७ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले करिब ९ लाख रुपैयाँ भुक्तानी गरेका छन्। लघु बीमा कम्पनीहरूमध्ये स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सले क्रमशः ७२ हजार र १२ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

समग्रमा हेर्दा, अग्रिम भुक्तानीसहित हालसम्म बीमा कम्पनीहरूले करिब २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्ति स्वरूप वितरण गरेका छन्। यसले सामाजिक असन्तोष र विपद्‌का बेला बीमा क्षेत्रले प्रभावित व्यवसाय र व्यक्तिहरूलाई राहत पुर्‍याउने महत्वपूर्ण भूमिका खेलेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij