काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२ साल कात्तिक १२ गते सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गरिएको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत लेखापरीक्षकको प्रतिवेदन छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन स्वीकृत गरेको छ। त्यसैगरी, मिति २०८२/०५/१९ मा बसेको बैंकको ३८७औं सञ्चालक समिति बैठकले सिफारिस गरेको लाभांश प्रस्ताव पनि सभाबाट पारित भएको छ। उक्त सिफारिस अनुसार शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरिएको छ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रावधान संशोधन गर्ने निर्णय गरिएको हो।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि श्री जि.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने र उनको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ।
बैठकको अन्त्यमा विविध विषयमा समेत छलफल गरिएको थियो। एभरेष्ट बैंक लिमिटेडले विगत तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रलाई सुदृढ बनाउन निरन्तर योगदान दिँदै आएको छ र यस वर्ष पनि उत्कृष्ट वित्तीय प्रदर्शनसहित स्थिर वृद्धि कायम राख्न सफल भएको जनाएको छ।