नयाँ दिल्ली । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङलाई भारत आगमनका क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उनलाई दिल्लीस्थित नेपाली दूतावासका राजदूत शंकर शर्मा र भारत सरकारको विदेश मन्त्रालयका नर्दन डिभिजनका उपसचिव तुषारांशु शर्माले स्वागत गरेका हुन् ।
मन्त्री घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance–ISA) को आठौं सभामा सहभागी हुन सोमबार अपराह्न राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्ली पुगेका हुन्।
अक्टोबर २७ देखि ३० (कात्तिक १०–१३) सम्म चल्ने यस सभामा ४० भन्दा बढी देशका मन्त्री र उच्च अधिकारीहरूको सहभागिता रहनेछ। सभामा सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरहरू बारे उच्चस्तरीय छलफल हुने कार्यक्रम छ।

नेपालको तर्फबाट मन्त्री घिसिङले “बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना” शीर्षकमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
नेपालले सौर्य ऊर्जाको उपयोग विस्तार र स्वच्छ ऊर्जा प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने उद्देश्यले यस सभामा सहभागिता जनाएको हो।
सन् २०१५ नोभेम्बरमा पेरिस घोषणामार्फत स्थापना गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) ले सन् २०३० सम्ममा करिब एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने लक्ष्य लिएको छ। नेपाल सन् २०२४ (२०८१ भदौ) मा १०१औं सदस्य राष्ट्रका रूपमा यस गठबन्धनमा आवद्ध भएको थियो।
मन्त्री घिसिङले सभामा सहभागिता जनाएर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।