२०८३ साउन ११ सोमबार

पोखरामा पर्यटकको चहलपहल, दसैं–तिहारको बिदाले पर्यटनमा उत्साह

ई आर्थिक    आइतबार, कार्तिक ९ २०८२
3.8K
Shares
पोखरामा पर्यटकको चहलपहल, दसैं–तिहारको बिदाले पर्यटनमा उत्साह

पोखरा ।  केही समयदेखि सुस्ताएको पोखराको पर्यटन अहिले फेरि जीवंत बनेको छ। दसैं–तिहारको लामो बिदा, खुलेको मौसम र हिमशृङ्खलाको आकर्षक दृश्यका कारण आन्तरिक र विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ।

लेकसाइडका होटल र रेस्टुरेन्टमा भीड बढेसँगै होटल व्यवसायी उत्साहित देखिएका छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले करिब ९० प्रतिशत होटल भरिएका छन्। उनका भनाइमा, अन्नपूर्ण क्षेत्र र मुस्ताङतर्फ जाने ट्रेकरको संख्याले पनि पर्यटनलाई पुनर्जीवन दिएको छ।

पोखरामा करिब १,२०० होटल सञ्चालनमा छन्, जसले एक रातमा ४० हजार पाहुना समायोजन गर्न सक्छन्। हाल १ फाइभस्टार, ६ फोरस्टार र करिब ३० थ्रीदेखि वन–स्टार स्तरका होटल सञ्चालनमा छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष कृष्ण आचार्यका अनुसार अन्नपूर्ण, मर्दी हिमाल, घोरेपानी–पुनहिललगायतका पदमार्गमा दैनिक हजारौँ ट्रेकर हिँडिरहेका छन्। उनले पदमार्गको संरक्षण, पूर्वाधार विकास र नयाँ रुट पहिचानमा सरकारी चासो आवश्यक रहेको बताए।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार तिहार अवधिमा रेस्टुरेन्टमा पनि पर्यटकको भीड बढेको छ। पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले भने, “मौसमी चापले मात्र पर्यटनको लगानी धानिँदैन, दीर्घकालीन योजना र दिगो रणनीति आवश्यक छ।”

फेवाताल, सराङकोट, विश्व शान्ति स्तूपा, डेभिस फल्स, गुप्तेश्वर गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पर्यटकलाई लोभ्याइरहेका छन्। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विदेशी पर्यटक थप आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij