म्याग्दी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले म्याग्दी र मुस्ताङ घुम्न निस्किने पर्यटकहरूलाई अघि नै होटेल बुकिङ गरेर मात्र यात्रा सुरु गर्न आग्रह गरेका छन्।
हाल ती क्षेत्रमा देशी तथा विदेशी पर्यटकको अत्यधिक भीड रहेको उल्लेख गर्दै उनले आवास अभावको समस्या बढिरहेको बताए।
‘यो समयमा म्याग्दी र मुस्ताङमा पर्यटकको चाप निकै बढेको छ,’ प्रजिअ तिवारीले भने, ‘धेरैजसो होटेलहरू भरिसकेका छन्। बस्ने व्यवस्था पक्का गरेर मात्रै यात्रा सुरु गर्नु उपयुक्त हुन्छ।’
उनका अनुसार पछिल्लो समय मुस्ताङको मार्फा, मुक्तिनाथ, कोरला नाका र म्याग्दीको नर्थ अन्नपूर्ण बेसक्याम्प तथा तातोपानी क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा तीव्र वृद्धि भएको छ।
प्रजिअ तिवारीले यात्रा सुरक्षित र सहज बनाउनका लागि फोरविल गाडी प्रयोग गर्न तथा चिसो मौसमका कारण न्यानो कपडा अनिवार्य रूपमा साथमा लिन पनि सुझाव दिएका छन्।
‘केही ठाउँमा बाटो मर्मत भइरहेको छ र कतै पहिरोका कारण सडक असजिलो छ,’ उनले भने, ‘त्यसैले सुरक्षित सवारीसाधन र तयारीसहित आउनु बुद्धिमानी हुन्छ।’