२०८३ साउन ११ सोमबार

छठ पर्व नजिकिँदै, बागमती नदीमा धाप ड्यामको पानी बगाउने तयारी

ई आर्थिक    शुक्रबार, कार्तिक ७ २०८२
4.3K
Shares
छठ पर्व नजिकिँदै, बागमती नदीमा धाप ड्यामको पानी बगाउने तयारी

ई-आर्थिक, काठमाडौं ।  तिहार पर्वको समापनसँगै देशभर अहिले छठ पर्वको रौनक बढ्न थालेको छ। परम्परागत रूपमा तराई क्षेत्रमा मनाइने यो सूर्य उपासनाको पर्व अहिले राजधानी काठमाडौंलगायत देशका सहरहरूमा पनि समान उत्साहका साथ मनाइने तयारी भइरहेको छ।

आगामी सोमबार मनाइने छठ पर्वलाई लक्षित गर्दै देशभरका पोखरी, तालतलैया र नदीहरूमा सरसफाइ अभियान सुरु भएको छ। काठमाडौं उपत्यकामा पनि ब्रतालुहरूले अघ्र्य चढाउने स्थान तयारी गर्दै बागमती नदीको किनारमा सरसफाइ तीव्र पारिएको छ।

बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती सुधार आयोजनाले छठ पर्वका अवसरमा बागमती नदीमा पानीको बहाव बढाउन धाप ड्यामको पानी छाड्ने तयारी गरेको छ। आयोजनाका सूचना अधिकृत उद्धव नेपालका अनुसार आइतबारदेखि नै प्रतिसेकेण्ड करिब ४०० लिटर पानी बगाइने योजना बनाइएको छ।

“धाप ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्न करिब १४ घण्टा लाग्ने भएकाले अघिल्लो दिनदेखि नै पानी छाड्न तयारी गरेका हौँ,” नेपालले बताए। उनका अनुसार यसले ब्रतालुहरूलाई नदीमा स्नान र अघ्र्य चढाउन सहज हुने उनले बताए ।

मेलम्ची खानेपानी विकास समितिले पनि आवश्यकता अनुसार पानी बगाउने तयारी रहेको जनाएको छ। समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार छठ पर्वको अवसरमा आधिकारिक माग आएमा मेलम्ची नदीको पानी पनि बागमतीमा छोड्न सकिनेछ।

सुन्दरीजल खानेपानी प्रशोधन परियोजनाका प्रमुख हेम बुढाथोकीले हालसम्म आधिकारिक माग नआए पनि, अघिल्ला वर्षहरूमा जस्तै मेलम्ची वा धाप ड्यामको पानी सहयोगस्वरूप प्रयोग गर्न सकिने बताए।

गोकर्णेश्वर नगरपालिका–१ भित्र पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित धाप ड्याम धार्मिक, पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ। वर्षातमा पानी संकलन गरेर हिउँदमा बागमती नदीमा बगाउने उद्देश्यका साथ यो आयोजना बनाइएको हो।

एसियाली विकास बैंकको सहयोगमा झण्डै ८९ करोड रुपैयाँ लागतमा बनेको ड्याम तीन वर्षअघि सञ्चालनमा आएको हो। १७४ मिटर लम्बाइ र ८ मिटर चौडाइको यो ड्यामले बागमती नदीको सौन्दर्यता र बहाव दुबै बढाउन मद्दत पुर्‍याएको छ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत शिवलाल गैरेका अनुसार, ड्याम सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।

छठ पर्व सूर्यदेव र छठी माताको आराधनासँग सम्बन्धित पर्व हो। चार दिनसम्म चल्ने यस पर्वमा महिलाहरूले शुद्धता, निष्ठा र अनुशासनका साथ परिवारको सुख, समृद्धि र दीर्घायुका लागि व्रत बस्ने गर्छन्।

नुहाउने–खाने, खरना, संध्याअघ्र्य र बिहानको अघ्र्य दिने गरी यस पर्वका चरणहरू सम्पन्न गरिन्छ। सूर्य उपासनाको माध्यमबाट मानव र प्रकृतिबीचको सम्बन्ध सुदृढ बनाउने सन्देश छठ पर्वले दिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij