ई-आर्थिक, धरान । तिहार सुरु भएसँगै धरानको बजार झिलिमिली बत्ती, फूलमाला, रङ र मिठाइले भरिएको छ। सडकपेटीमा सयौं साना व्यापारीहरू पूजासामग्रीदेखि बत्ती र मिठाइसम्म बेच्दै व्यस्त छन्।
धरान–२ का बिक्की दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म किसमिस, अबिर, मिठाइ र बत्ती बेच्दै दैनिक १५–२० हजार रुपैयाँको कारोबार गरिरहेका छन्। बत्ती व्यापारी निरज कोइरालाका अनुसार परम्परागत दियोको सट्टा अहिले झिलिमिली बत्तीको बिक्री बढी छ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले तिहारमा सडक र गल्लीमा पसल लाग्दा व्यवस्थापन चुनौती हुने बताए। संघले प्रशासनसँग मिलेर सुरक्षा र व्यवस्थापनमा सहयोग गरिरहेको छ।
व्यापारीको मेहनत र ग्राहकको भीडसँगै धरानको सानो अर्थतन्त्रमा तिहारले सकारात्मक प्रभाव पारेको छ।