२०८३ साउन १२ मंगलबार

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

ई आर्थिक    सोमबार, कार्तिक ३ २०८२
3.7K
Shares
एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ।  मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन्।

यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन्।

असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए।

प्रहरी नायव उपरीक्षक लामाका अनुसार आन्तरिक तथा बाह्य गरी १४ हजार ३८९ पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए। यसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी पर्यटक रहेका थिए। गत वर्ष असोजमा कूल ५९ हजार ८३१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। सो अवधिमा ४७ हजार २९३ आन्तरिक र १२ हजार ५३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ।

मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी २०.८५ प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ। मुस्ताङमा चालु आवको साउनदेखि असोजसम्ममा एक लाख १८ हजार ६८९ पर्यटक भित्रिएका थिए । साउनदेखि असोजसम्ममा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।

आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। सो अवधिमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्यांक छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij