म्याग्दी । धवलागिरी चक्रीय पदमार्गमा हराएका एक विदेशी पर्यटक र नेपाली पथप्रदर्शक २४ घण्टापछि सकुशल फेला परेका छन्। शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका उनीहरू शनिबार राति ९ बजे मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित स्याङमा आइपुगेका हुन्।
फेला परेकामध्ये जर्मन नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र नेपाली पथप्रदर्शक मिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।
उनीहरू म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित ४,७५० मिटर उचाइमा रहेको धवलागिरी बेस क्याम्पबाट मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने थम्पुस पिकतर्फ जाँदै गर्दा बाटो बिराएर हराएका थिए।
सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत पदयात्रामा गएका उनीहरूको खोजीका लागि कम्पनीले हेलिकप्टरसमेत परिचालन गरेको थियो। जंगलको बाटो हुँदै अनियोजित रूपमा स्याङमा निस्किएका उनीहरू रातको समयमा बाटो भुलेको बताइएको छ।
प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा का अनुसार, हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ र कुनै गम्भीर समस्या देखिएको छैन।
धवलागिरी चक्रीय पदमार्ग अप्ठ्यारो भूगोल र जटिल ट्रेलका कारण जोखिमयुक्त मानिन्छ। पदयात्रामा जाने पर्यटकले मौसम, गाइड र ट्रेकिङ कम्पनीसँगको समन्वयमा विशेष सतर्कता अपनाउन आवश्यक हुने विज्ञहरू बताउँछन्।