पाँचथर । बाढीले अवरुद्ध बनाएको फिदिम–फालोट सडक खण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको छ। पूर्वाधार विकास कार्यालय पाँचथरले खोलामा २० वटा ह्युम पाइप प्रयोग गरेर डाइभर्सन निर्माण गरिरहेको हो।
गत असोज १८ गते आएको बाढीले फेमे खोलाको स्थायी डाइभर्सन बगाएपछि सडक सम्पर्क पूर्णरूपमा अवरुद्ध भएको थियो। कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माण सोमबारसम्म सम्पन्न गरिने लक्ष्य लिइएको छ।
सडक अवरुद्ध भएपछि फिदिम नगरपालिका-१० देखि १३ नम्बर वडा र फालेलुङ गाउँपालिका-३ देखि ८ नम्बर वडाका बासिन्दा आवतजावतमा मारमा परेका छन्। हाल यात्रुले खोलाको दुवैतर्फ रहेका सवारीसाधन प्रयोग गर्न करिब १५ मिनेट पैदल हिँडेर खोला पार गर्नुपरेको छ।
यसअघि, गत वर्ष असोज १२ गतेको बाढीले फेमे खोलामा रहेको सडक पुल बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। त्यसपश्चात गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको भए पनि हालको बाढीले पुनः बगाएको हो।
बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइए पनि बजेट अभावका कारण हालसम्म काम अघि बढ्न सकेको छैन। डाइभर्सन बगाएपछि नेपाली सेनाको फिदिमस्थित वीरदल गणले पैदल आवागमनका लागि फड्के निर्माण गरेको छ।
यद्यपि, सामग्री ढुवानी, बिरामीको आवतजावत तथा स्थानीय उत्पादनको निकासीमा ठूलो कठिनाइ भइरहेको फिदिम–११ का स्थानीय लोकबहादुर बुढाथोकीले बताए। स्थानीयले स्थायी समाधानका लागि द्रुत पहल गर्न सरोकारवालासँग माग गरेका छन्।