२०८३ साउन १० आइतबार

चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

ई आर्थिक    आइतबार, असोज २६ २०८२
1.4K
Shares
चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

ई-आर्थिक, काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट पदोन्नति पाएका चार जना प्रहरी अधिकृतहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का रूपमा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले नवपदोन्नत एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै औपचारिक रूपमा सुशोभन गरे ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका  छन्।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले नवपदोन्नत अधिकृतहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त  गरे ।

 

पेशागत दक्षता र नेतृत्व क्षमताको मूल्यांकनमा आधारित पदोन्नति

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले नवपदोन्नत अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले संगठनप्रति देखाएको समर्पण, पेशागत दक्षता र कार्यकुशलताको मूल्याङ्कनकै आधारमा पदोन्नति गरिएको उल्लेख गर्दै, प्राप्त जिम्मेवारीलाई अनुभव, विवेक र नेतृत्व क्षमताको प्रयोग गर्दै संगठनको हितमा कार्य गर्नु पर्नेमा जोड दिए।

आईजीपी खापुङ्गले भने, “नेपाल प्रहरीको विकल्प भनेकै अझ परिष्कृत, उत्तरदायी र नागरिकमैत्री नेपाल प्रहरी हो। विगतका कमी–कमजोरीको विश्लेषण गर्दै सुधारमुखी प्रहरी सेवा प्रदान गर्नु आजको आवश्यकता हो।”

नवपदोन्नत प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य दिंदै एआईजी सुशिल सिंह राठौरले नेपालको संविधान र वर्तमान कानुनको परिधिभित्र रही शान्ति सुरक्षा, सुव्यवस्था कायम राख्न र कानुन कार्यान्वयनमा अझ उत्प्रेरित भएर इमानदार रूपमा जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अन्य वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी जवान तथा परिवारजनहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij