ई-आर्थिक, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने तयारीमा निर्वाचन आयोग जुटिरहेको छ। यसै सन्दर्भमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचनको पूर्वतयारी र भावी कार्यक्रमहरूको बारेमा जानकारी गराएका छन्।
राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन हालसम्म सम्पन्न कार्यहरू, आवश्यक स्रोत–साधन, जनशक्ति तथा सुरक्षा व्यवस्थाको सुनिश्चितताबारे विस्तृत विवरण दिएको छ। आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत–साधन तथा जनशक्ति सरकारबाट उपलब्ध हुने सुनिश्चितता प्राप्त भइसकेको छ।
आयोगले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्नका लागि कार्ययोजना तयार गरी आन्तरिक प्रशासनिक कामहरू योजनाबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ। मतदाता नामावली अद्यावधिकका कार्यहरू संशोधित मतदाता नामावली ऐन, २०७३ अनुसार सुचारु अवस्थामा छन्। आयोगले निकट भविष्यमै राजनीतिक दलहरू तथा सरोकारवालाहरूसँग आवश्यक छलफलहरू अघि बढाउने कार्यक्रम तय गरेको छ।
राष्ट्रपति पौडेलले आयोगलाई सबै नागरिकको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न, राजनीतिक दल र सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन तथा कार्यतालिकाअनुसारका सबै कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
आयोगले निर्वाचन आचार संहिता निर्धारण तथा कार्यान्वयन, उम्मेदवारको मनोनयन, सो सम्बन्धमा छानबिन, अन्तिम नामावली प्रकाशन र मतदानसम्मका सम्पूर्ण कार्यक्रमहरू राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्शमा तय गरिने जानकारी दिएको छ। साथै, सम्पूर्ण पूर्वतयारीका कार्यक्रमहरू समयमै सम्पन्न हुने आयोगले विश्वास दिलाएको छ।
सो अवसरमा आयोगका आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, सचिव महादेव पन्थ, राष्ट्रपतिको तर्फबाट विज्ञ सल्लाहकारहरू तथा राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्लेको उपस्थिति रहेको थियो।